नेभिगेशन
सुरक्षा विशेष

निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण र सेवन निषेध

काठमाडौं । निर्वाचन आयोग ले मतदान प्रक्रिया सकिएर अन्तिम परिणाम सार्वजनिक नभएसम्मका लागि देशभर मादक पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ।

आयोगका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले पारित गरेको सुरक्षा योजनाका आधारमा गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको हो। समग्र सुरक्षा अवस्थाको समीक्षा, जोखिमको मूल्यांकन तथा प्राप्त सुझावका आधारमा मदिरा नियन्त्रणको कदम चालिएको आयोगले स्पष्ट पारेको छ।

आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ लागू गर्न गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सचेत गराइएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई समेत सक्रिय बनाइ निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीतका गतिविधि हुन नदिन तथा उल्लंघन पाइए तुरुन्त कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ।

मतदानको दिन सवारी व्यवस्थापन

मतदान हुने दिन अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालनमा अवरोध नहुने जनाइएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारी निर्वाध चल्नेछन्। दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका गाडी र पूर्वस्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि अनुमति रहनेछ।

तर सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुन्जेल सञ्चालन गर्न नपाइने निर्णय भएको छ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल आवतजावतमा सहजीकरण गरिनेछ भने एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिइने व्यवस्था मिलाइनेछ।

मतदानका लागि मान्य कागजात

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सकिनेछ। साथै राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात प्रस्तुत गरेर पनि मतदान गर्न पाइनेछ।

मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको भन्दै आयोगले यसबारे सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई स्पष्ट सूचना दिन निर्देशन दिएको छ।

मतदानका दिन सवारी पास आवश्यक परेमा आयोगको सचिवालय परिसरमा विशेष पास वितरण एकाइ स्थापना गरिनेछ। उक्त एकाइमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि कर्मचारी खटाइने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्