नेभिगेशन
सुरक्षा विशेष

जेनजी आन्दोलनको छानबिन सकियो, प्रतिवेदन सरकारको हातमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा सरकारसमक्ष पेश गरिएको छ। सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका घटनाबारे छानबिन गर्न असोज ५ गते आयोग गठन गरेको थियो।

छानबिनका क्रममा आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा युवाहरूको ज्यान जाने अवस्थासम्म पुगेको घटनाबारे विस्तृत अध्ययन गरेको थियो। सो क्रममा १५० भन्दा बढी सरकारी अधिकारी, प्रत्यक्षदर्शी तथा आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूसँग बयान संकलन गरिएको आयोगले जनाएको छ।

जेनजी आन्दोलन भएको समयमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यतिबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल कार्यरत थिए।

आयोगको प्रतिवेदनपछि उक्त घटनासम्बन्धी सरकारी निर्णय र थप कारबाहीबारे सरकारको धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्